अमेरिकाद्वारा बंगलादेशमा अल्पसंख्यक समुदायविरुद्ध जारी हिंसाको निन्दा

अमेरिकी विदेश मन्त्रालयले बंगलादेशमा अल्पसंख्यक समुदायका विरुद्ध भइरहेको हिंसाको निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले बंगलादेशमा अल्पसंख्यक समुदायका विरुद्ध भइरहेका हिंसाको निन्दा गरेकी हुन् ।
प्रवक्ता ब्रुसले कुनै पनि मुलुकमा अल्पसंख्यक समुदायका सदस्यलाई लक्षित गरी हुने कुनै किसिमका हिंसा वा असहिष्णुताको निन्दा गर्ने बताइन् । उनले बंगलादेशको अन्तरिम सरकारले सबै जनताको सुरक्षाको प्रत्याभूति गर्न चालेको कदमको स्वागत गरेको पनि उल्लेख गरिन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार उनले बंगलादेशमा विकसित घटनाक्रमलाई अमेरिकाले नजिकबाट नियालिरहेको समेत टिप्पणी गरिन् ।
केही महिनाअघि विशाल आन्दोलनका कारण बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको पद त्यागेपछि धार्मिक अल्पसंख्यक खासगरी हिन्दु धर्मावलम्बीलाई लक्षित गरी हिंसाका घटना बढिरहेको बताइएको छ ।
यसअघि अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले पनि बंगलादेशमा इस्लामिक अतिवादको निन्दा गरेकी थिइन् । गबार्डले गरेको टिप्पणीको बंगलादेशको अन्तरिम सरकारले निन्दा गरेको थियो ।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।